उद्देश्यसहितको कष्ट, असल कष्ट
- Short Devotion
- September 22, 2023
- 0
- 585
- 1 minute read
भजनसंग्रह ११९:७१ मा लेखिएको छ, “तपाईका नियमहरू सिक्न सकूँ भन्ने उद्देश्यले मैले जुन कष्ट भोगें, त्यो कष्ट मेरा लागि असलै भयो।”
के कुनै कष्ट असल हुन सक्ला र? के तपाईले कुनै कष्ट भोग्नु भएको छ जुन असल भएको थियो। भजनसंग्रह लेखकले कसरी भन्न सक्छन् कि “त्यो कष्ट मेरा लागि असलै भयो?” या त उनी ढाँट्दैछन् या त उनी कुनै अद्भूत रहस्य बोल्दैछन्। यो परमेश्वरको वचन हो र यो सत्य छ। यो जुन कष्ट यहाँ उल्लेख भएको छ यो साधरण कष्ट थिएन। असाधरण यस अर्थमा कि यो कष्ट उद्देश्यसहितको कष्ट थियो। उद्देश्य चाहिँ “तपाईका अर्थात् परमेश्वरका नियमहरू सिक्न सक्नु” थियो।
आज के तपाई कष्ट भोग्दै हुनुहुन्छ? जीवन कष्टकर छ? चुनौतीहरूको सामना गर्दै हुनुहुन्छ? परमेश्वरका जनहरूका लागि कुनै पनि कष्ट या चुनौतीपूर्ण परिस्थितीहरू व्यर्थका छैनन्। आफ्ना जनहरूको लागि हरेक कुरामा परमेश्वरको ईश्वरीय उद्देश्य छ। अन्तत हामीलाई ख्रीष्टको रूपमा ढाल्नु नै उहाँको उद्देश्य हो (रोमी ८:२८, २९)। उहाँका नियमहरू, वचनहरू जानेर, त्यस अनुसार जिउँदै, ख्रीष्ट जस्तै बनिँदै जानु – हाम्रो उद्देश्य यहि हो। हाम्रा जीवनमा आउने परीक्षाहरू, जाँचहरू, कष्टहरूद्वारा हामीलाई ख्रीष्टमा अझै परिपक्व पार्ने परमेश्वरको योजनाको लागि धन्यवाद! यी उद्देश्यसहितका कष्टहरू अन्तत हाम्रै भलाइका लागि हुँदछन्।
त्यसैले आज हामी कष्टहरूमा, सबै परिस्थितीहरूमा परमेश्वरको योजना र उद्देश्यलाई देखौं। निराशामा डुब्नुको साटो, आशामा उठौं! आज त प्रष्ट नदेखिएला तर कष्टहरू एक दिन पार हुने नै छ; पार भएपछि प्रष्ट देख्नेछौं ‘त्यो कष्ट असलै भयो’। परमेश्वरलाई धन्यवाद होस् हाम्रा जीवनमा उहाँको महान योजना र उद्देश्य छन्! आनन्दित भई विश्वाससाथ अघि बढौं, निश्चय एक दिन हामी पनि उद्घोष गर्नेछौं, “त्यो कष्ट मेरा लागि असलै भयो!”