सृष्टि कसरी?
मानव जातिको सुरूवात कसरी भयो? मानिसको सृष्टि कसरी भयो? सबै जीवजन्तु, पहाड, खोला-नाला आदि कसरी अस्तित्वमा आए? हामी मानिस यस संसारमा किन छौं? कहाँ जाँदैछौं?
मानिसहरूले धेरै समयदेखि सृष्टिका प्रश्नहरूका उत्तरहरू खोजिरहेका छन् तर घतलाग्दो, सत्य अनि सन्तोषजनक उत्तर विज्ञानले दिन सकेको छैन, नता मानव दर्शनशास्त्रले नै दिएको छ। प्लेटो, अरिस्टोटल, सोक्रेटिज लगायत दार्शनिकहरूका उत्तरहरू पनि पूर्ण र चित्त बुझ्दो पाइएको छैन। तर बाइबलले भने यस सम्बन्धि हरेक प्रश्नको सठिक र सन्तोषजनक उत्तरहरू दिएको छ। के तपाई यो विषयमा थप जान्न चाहानुहुन्छ? तल अझै पढ्नुहोस्, तर्क सहित खुला हृदयले पढ्नुहोस्।
सृष्टि सम्बन्धि आज संसारमा मूख्य रूपमा दुई विचारधाराहरू छन् – सृष्टिवाद र विकासवाद (Evolution)। सृष्टिवाद भन्नाले ईश्वरले नै सबै कूराहरू सृष्टि गर्नुभयो भन्ने बुझिन्छ। विकासवादको सिद्धान्त अनुसार भने सबै कुराहरू क्रमिक रूपमा अरबौं वर्षको अवधिमा एक कोषबाट विकास हुँदै आए भन्ने बुझिन्छ।
यी दुई नितान्त भिन्न मतहरू हुन्। आज संसारका मानिसहरू या त विकासवादलाई अङ्गालिरहेका छन् या त सृष्टिवादलाई; एउटा न एउटा विचारलाई अपनाएकै हुन्छन्! तपाईको विचार के छ? सारा विश्व, प्रकृतिका थोकहरू, जीवजन्तु, अन्तरिक्ष कसरी सृष्टि भए? अनि सृष्टि सम्बन्धि हाम्रो जुन बुझाइ छ त्यसले संसार प्रतिको हाम्रो दृष्टिकोणलाई प्रभाव पार्दछ। कि विकासवाद सत्य हो कि सृष्टिवाद सत्य हो। दुवै सत्य हुन सक्दैनन्। अनि बाइबलले चाहिँ ईश्वरीय सृष्टिको वर्णन गर्दछ जस अनुसार जीवित एक मात्र परमेश्वरले सारा संसार र यसमा भएका सबै थोक र जीवहरू ६ दिनमा सृष्टि गर्नुभयो। अब तलका खण्डहरूमा बाइबलीय सृष्टिवाद र डार्विनले संस्थापन गरेका विकासवादका बीचमा तुलना गरिनेछ।
विकासवादः
– २० अर्ब वर्ष अघि ठूलो विष्फोट (Big Bang) भयो
– ४.६ अर्ब वर्ष अघि पृथ्वी चिस्सियो र भित्री धरातल (Earth’s Crust) बन्न गयो
– ३ अर्ब वर्ष अघि पहिलो जीव कोष समुद्रको (Organic soup) ओर्गानिक सुपमा शुरू भयो र आजको प्रत्येक जीवहरूमा विकास भएर आयो
– ३० लाख वर्ष अघि पहिलो मानवहरू प्राइमेट्स (Primates) बाट विकास भए
बाइबलीय सृष्टिवादः
– परमेश्वरले आकाश र पृथ्वी, जीव जन्तु र मानिस करिब ६,००० वर्ष अघि ६ दिनमा सृष्टि गर्नुभयो
– मानिसको दुष्टताको कारण परमेश्वरले नूह र उसको परिवार बाहेक सबैलाई नाश गर्न विश्वव्यापी जलप्रलय पठाउनुभयो
– येशू ख्रीष्ट हामी पापीहरूलाई पाप क्षमा दिन र पापको बन्धनबाट छुटाउन करिब २,००० वर्ष अघि पृथ्वीमा आउनुभयो
यी दुई विचार धाराहरूलाई अझ प्रष्ट बुझ्न हाम्रो जीवनका चार महान प्रश्नहरूलाई विचार गरौं। यी प्रश्नहरू संसारका हरेक मानिसले सोचेकै हुन्छन्।
म को हुँ? म कहाँबाट आए?
म यहाँ किन छु? म मरेपछि कहाँ जाँदैछु?
यदि विकासवाद सहि हो भने, माथिका जीवनसम्बन्धि महान प्रश्नहरूको उत्तर यस प्रकार हुन्छन् –
म को हुँ? – म केवल विकासको एक भाग मात्रै हुँ, केवल जीव कोषहरूले बनेको एक जीव मात्रै
म कहाँबाट आए? – लामो विकासक्रमबाट विभिन्न जीवहरू हुँदै
म यहाँ किन छु? – खासै कुनै कारण छैन, विकासको एक भाग मात्रै, जीवनको खास महत्व छैन
म मरेपछि कहाँ जाँदैछु? – माटोमा
यदि बाइबलीय सृष्टिवाद सहि हो भने, माथिका जीवनसम्बन्धि महान् प्रश्नहरूको उत्तर यस प्रकार हुन्छन्-
म को हुँ? – सर्वोच्च परमेश्वरद्वारा उहाँकै प्रतिरूपमा बनाइएको अद्भूत सृष्टि हुँ
म कहाँबाट आए? – परमेश्वरको श्वासबाट, उहाँद्वारा बनाइएँ
म यहाँ किन छु? – सृष्टिकर्ता परमेश्वरको महिमाको लागि
म मरेपछि कहाँ जाँदैछु? – कि स्वर्ग कि नरकमा
यसरी सृष्टि सम्बन्धि हाम्रो बुझाइ साह्रै महत्वपूर्ण छ। हामी सृष्टि सम्बन्धि जुन विचारधारालाई मानिलिन्छौं त्यसैद्वारा हाम्रो जीवनका सबै कुराहरूप्रति हाम्रो दृष्टिकोण रहँदछ। यदि विकासवाद सहि हो भने मृत्यु ठूलो कुरा भएन। अझ विकासवाद अनुसार त मृत्यु राम्रो कुरा हो। एक जीवदेखि अर्को जीवमा विकास हुँदै जानलाई पुरानो जीव मरेपछि मात्रै नयाँ जीव हुन जान्छ। पाप पनि ठूलो कुरा भएन। अनि पापको न्याय पनि नहुने भयो। त्यसैले हरेक मानिसले आफ्नो इच्छामा जे लाग्छ त्यहि गर्न सक्छ। पुरूषले पुरूषसँग विहे गर्दा पनि हुन्छ, बच्चालाई पेटभित्रै मार्न पनि पाइन्छ, एक महिलाले पशुसँग विहे गर्न पनि छुट छ। कुनै रोकतोक छैन। रोकतोक किन गर्ने? आखिरमा यो सबै विकासको एक क्रमै न हो। सृष्टिकर्ता परमेश्वर भए पो डर मान्नु त। सबै आफै बनेको हो त कसको डर मान्ने हो? विकासवादमा “जसको शक्ति उसैको भक्ति” भन्ने भनाइ अक्षरश पूरा हुन्छ। (Survival of the Fittest) “सबैभन्दा बलियो बाँच्छन्” को सिद्धान्त अनुसार जुन जीव बलियो छ उही नै बाँच्छ, अरू मर्छन्। त्यसो त संसारका मानिसहरू स्वार्थी हुनु के अस्वभाविक हो र? सबैलाई उछिनेर आफू माथि हुनुपर्छ, यो त स्वभाविक हो, बाँच्नु त पर्यो नि।
साँच्चै विकासवादको कालो चस्माद्वारा संसारलाई हेर्दा निराशा र व्यर्थता मात्रै देखिन्छ। त किन नबढोस् आत्माहत्या? त किन नबढोस् सारा अधर्म र दुष्टता, लोभ, डाहा अनि बलत्कार?
अनि कतिले सोच्छन् विकासवाद विज्ञान हो। कतिले सोच्छन् कि यो त पढे लेखेका वैज्ञानिकहरूद्वारा तयार गरिएको सिद्धान्त हो। यो सहि छ भनेर सोच्छन्। हाम्रो स्कुल कलेजको विज्ञान किताबमा पनि यो सिद्धान्त समेटिएको छ। तर केही वैज्ञानिकहरूले सहि हो भन्दैमा कुनै कुरा सहि हुँदैन। संसारमा लाखौं वैज्ञानिकहरू आज पनि छन् जसले विकासवादलाई गलत भएको सावित गरेका छन्। बहूमतले सहि भन्दैमा कुनै कुरा सहि हुन्छ भन्ने ग्यारेन्टि हुँदैन। जस्तो उदाहरणको लागि पुरानो समयमा बहूमतले पृथ्वी गोलो हुन्छ भन्ने तथ्य विश्वास गर्दैनथे। तर आज पुष्टि भईसकेको छ कि पृथ्वी गोलाकार छ। बाइबलले हजारौं वर्ष अघि नै पृथ्वी गोलो छ भन्ने तथ्य दिएको थियो।
भनिन्छ कि चार्ल्स डार्विनले यस विकासवाद सिद्धान्तलाई पुष्टि गरेका छन्। ए साँच्चै हो? तर्क सहित विचार गरौं न। उनले कसरी पुष्टि गरे? के उनी त्यो ठूलो विस्फोट (Big Bang) हुँदा उपस्थित थिए? के उनले कुनै बाँदर मान्छेमा विकास भएको भिडियो खिचेका छन्? यो त केवल उनको विचार मात्रै हो, सृष्टि सम्बन्धि आफ्नो व्यक्तिगत एक प्रस्ताव न हो, एउटा कल्पना मात्रै हो। वास्तवमा धेरै प्रयास बावजुत पनि विकासवादको पूर्ण पुष्टि कसैले गर्न सकेको छैन। विकासवादलाई मानिलिन ठूलो विश्वासको खाँचो पर्छ। आज जति पनि मानिसहरू विकासवादलाई मान्छन् उनीहरू चार्ल्स डार्विन लगाएतका वैज्ञानिकहरूमाथि विश्वास गरिरहेका छन्। सृष्टि सम्बन्धिको विज्ञान (Observational Science) अवलोकन विज्ञान होइन, यो त (Historical Science) ऐतिहासिक विज्ञान हो। अर्थात् कुनै विज्ञानको प्रयोगशालामा यसको अवलोकनको लागि कुनै परीक्षणहरू गर्न सकिन्न। हुन त कार्वोन डेटिङ (carbon dating) प्रणाली प्रयोग गर्ने गरिन्छ तर यसमा पनि धेरै त्रुटिहरू भएको पुष्टि भएको छ। विकासवादको पुष्टिको लागि फसिलहरू (Fossils), अर्थात् मृत जीवको हाडहरूको अध्ययन गरिन्छ। यी फसिलहरू विकासवादका प्रमाण हुन् कि जलप्रलयको?
अन्धाधुन्दा विकासवादलाई विश्वास नगरौं तर तर्क सहित सोचौं। यो विषय वृहत हुन सक्छ त्यसैले निष्कर्ष यो हो कि विकासवाद एउटा धर्म नै हो। यसले ठूलो विश्वासको माग गर्दछ। ठूलो विस्फोट भयो अरे, अनि समुद्र बन्यो अरे, अनि एक कोष तयार भयो अरे, अनि विस्तारै त्यही एक कोषबाट बहूकोषी जीवहरू बन्यो अरे…अनि यो भयो अरे, अनि त्यो भयो अरे आदि इत्यादि। बाइबलको सत्यतालाई विश्वास गर्नुभन्दा बढि विश्वासको खाँचो पर्दछ यसमा। पहिला निष्कर्ष निकालिन्छ अनि प्रमाणहरू खोजिन्छ – के यस्तो पनि साँचो विज्ञान हुन्छ त? साँचो विज्ञानमा त प्रमाणहरूको आधारमा पो निष्कर्ष निकालिन्छ त! आज वैज्ञानिकहरू विकासवादलाई पुष्टि गर्न प्रमाणहरूको खोजमा लागि परेकाछन्। त्यसैले उनीहरू उत्खननमा (Archeology) विशेष चासो दिन्छन्।
अनि विकासवाद अनुसार त जीवनको खासै अर्थ रहेनछ। हाम्रो जीवन त केवल विकासको एक भाग मात्रै हो। बाँदरबाट मानिस भइयो अब मानिसबाट के बन्ने होला? के यहि यर्थाथ हो? के हरेक मानिसको विवेकले ईश्वर हुनुहुन्छ भनी भन्दैन र? के संसारका हरेक मानिसले आ-आफ्नै तरिकामा ईश्वर खोजिरहेका छैनन् र?
विकासवादको भ्रममा नपरौं। सृष्टिकर्ता परमेश्वरले हामीलाई यस सुन्दर जीवन दिनुभएको छ। यो जीवनको अर्थ छ, अनि यो अर्थ येशू ख्रीष्ट जो एक मात्र जीवित परमेश्वर हुनुहुन्छ उहाँमा मात्रै मिल्दछ। हामी मानिसहरू परमेश्वरको महिमाको लागि सृजिएका हौं। हाम्रा हरेक कार्यको लेखा एक दिन सृष्टिकर्तालाई दिनुछ। पापको कारणले मृत्यु आएको हो। हरेक मानिसलाई पाप क्षमा दिन र पापी मानिसलाई पवित्र परमेश्वरसँगको मिलापमा ल्याउन ख्रीष्ट करिब २,००० वर्ष अघि क्रूसमा बलिदान हुनुभएको हो। आउनुहोस्, आफ्नो पापपूर्ण जीवनबाट पश्चताप गर्दै येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्। उहाँलाई आफ्नो जीवनको मुक्तिदाता र मालिक भनी मानिलिनुहोस्।
थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस।
1 Comment
राम्रो लाग्यो