सेवाकाइको बोलावट

(स्पर्जनद्वारा लिखित ‘लेक्चर टु माइ स्टुडेन’ को एक अंशमा आधारित)


परमेश्‍वरको सेवा गर्नु ठूलो अवसर र ठूलो आशिष हो। हरेक विश्‍वासीको जीवनबाट परमेश्‍वरको सेवा हुनुपर्दछ। तथापि त्यहाँ केहि व्यक्तिहरू हुन्छन् जसलाई परमेश्‍वरले पूर्णकालिन सेवाकाइको लागि बोलाउनुहुन्छ। मण्डलीको आत्मिक उन्‍नति र हेरचाहाको लागि शिक्षकहरू, प्रचारकहरू र गोठालाहरू परमेश्‍वरले दिनुहुन्छ। एक जवान युवक जो प्रचारक हुन चाहान्छ उसले केहि कुराहरू विचार गर्नुपर्छ। प्रचारकको या गोठालाको सेवाकाइ सानो सेवाकाइ होइन। सेवाकाइ बाहिरी कुनै पेशा जस्तो होइन। यो त जीवित परमेश्‍वरको अगुवाइमा उहाँको काम गर्नु हो। इच्छा हुँदैमा प्रचारक या गोठाला भईदैन। परमेश्‍वरको दान र विशेष बोलावटको आवश्यक पर्दछ; परमेश्‍वरको बोलावट चाहिँदछ। सेवाकाइमा अघि बढ्ने इच्छा भएका जवानहरूले यी कुराहरूमा ध्यान दिनुपर्दछः

  • वचन प्रचार गर्ने ठूलो बोझ हुनुपर्दछ

यदि वचन प्रचारमा बेजोड बोझ छैन भने एक व्यक्तिले सेवाकाइमा अघि बढ्ने सम्बन्धमा फेरि सोच्नुपर्दछ। जसरी यर्मियाभित्र जलिरहेको आगो थियो, र नबोलि उनी सक्दैनथे, त्यस्तै आगो छैन भने एक व्यक्तिले वचन प्रचार र गोठालाको सेवाकाइको विषयमा फेरि सोच्नुपर्दछ। यदि कोहि व्यक्ति वचन प्रचार बाहेक अन्य कुनै पेशा या कार्य गरेर जीवन चलाउन सक्छ भने उसले त्यसै गरोस्। वचन प्रचार बाहेक अरू काम गरेर पनि ऊ सन्तुष्ट रहन सक्छ भने, त्यो व्यक्ति वचन प्रचारको सेवाको लागि बोलाइएको छैन। किनभने वचन प्रचारको सेवामा बोलाइएको व्यक्तिमा अपूर्व भोक हुँदछ – वचन प्रचारको लागि। अन्य कुनै पेशा या काम उसले सोच्न सक्दैन। वचन प्रचारको सेवा बाहेक अरू काममा ऊ सन्तुष्ट रहन सक्दैन। आफ्नो प्रचारकहरूलाई परमेश्‍वरले त्यो विशेष बोझ दिनुहुन्छ। यस्तो बेजोड बोझ भएकाहरूले मात्रै यस विषयमा थप विचार गर्नुपर्छ।

  • सिकाउन सिपालु, सेवाको लागि आवश्यक दान र क्षमता हुनुपर्दछ

वचन प्रचार गर्ने ठूलो बोझ अपरिहार्य छ तर त्यस अनुसारको दान र क्षमता छैन भने त्यहाँ प्रश्‍न उठ्दछ। आफ्नो कामको लागि परमेश्‍वरले बोलाउनुहुँदा आवश्यक दान र क्षमता पनि दिनुहुन्छ। चरालाई उड्नको लागि पखेटा दिनुभयो, माछालाई पानी मुनि रहनलाई आवश्यक अङ्गहरू दिनुभयो, अनि बाघलाई शिकार गर्न तिखा नङ्ग्रा र दाँतहरू दिनुभयो। यदि एक व्यक्तिमा सिकाउने र गोठाला गर्ने क्षमता र दान छैन भने स्वतह उसको बोलावट शंकास्पद बन्दछ। होला उसले शुरूमै विशिष्ट प्रवचन प्रस्तुत नगर्ला, अथवा कति कुराहरूमा अझै सिक्‍न बाँकी होला तर केहि ने कहि संकेत भने मिल्नुपर्दछ। चराको सानो चल्लालाई उड्न पुरै नआउला तर उसको सानो सानो पखेंटा विकास हुँदै गईरहेको त देख्‍न सकिन्छ नि। धेरैपटक मण्डलीहरूका पुलपिटमा बोलावट नपाएका सेवकहरू, प्रचारकहरू, गोठालाहरू उभिएको हुँदा मण्डली तहसनहस र प्रभावहीन हुँदछ। सेवाकाइमा अघि बढ्न चाहाने व्यक्तिमा आवश्यक दान र क्षमता प्रष्ट देखिनुपर्दछ।

  • परीक्षण सेवाकाइमा प्रभावकारिता र फल देखिनुपर्दछ।

माथि उल्लेख भएझैं यदि कोहि व्यक्तिमा सेवाको बेजोड बोझ र दान देखिएमा उसलाई परीक्षण कालमा सहभागि गराउनु बुद्धिमानी हुँदछ। यस परीक्षणको अवधिमा उसको बोलावटलाई थप विश्‍लेषण गर्ने अवसर मिल्दछ। उसको सेवाकाइद्वारा मानिसहरू ख्रीष्टमा डोर्‍याइएका छन्, मण्डलीको उन्‍नति भएको छ र विश्‍वासीहरूको समर्थन छ भनी देखिएमा एक व्यक्तिको सेवाकाइको बोलावट थप पुष्टि हुँदछ। यसको विपरित एक व्यक्तिको सेवाकाइबाट मानिसहरू ख्रीष्टमा डोर्‍याइनुको सट्टा धेरैले ठेस खाएका छन् भने, मण्डलीको उन्‍नति हुनुको सट्टा मण्डलीमा विभाजन र अन्यौलता आएको छ भने, र विश्‍वासीहरू उसको सेवाकाइप्रति असन्तुष्ट छन् भने त्यस व्यक्तिको सेवाकाइको बोलावटमा प्रश्‍न उठ्दछ। सायद ऊ सेवाकाइको लागि बोलाइएको छैन, सायद ऊ अरू कुनै पेशामा अघि बढ्नुपर्दछ – तर परमेश्‍वरको सेवक हुनु हल्का कुरा होइन। परमेश्‍वरको बगाललाई सिकाउनु, अगुवाइ गर्नु बाहिरी पेशामा जस्तो हाकिम या चिफ बन्‍नु होइन।

यस प्रकारको जाँच र अध्ययनबिना कोहि सेवाकाइमा होमिन चाहान्छ – पुल्पिटमा उभिन हतार गर्छ भने सबैको भलाइको लागि ऊ कहिल्यै पुल्पिटको छेवैमा नआओस्। “जसरी व्यक्तिले आफ्नो समय खोज्छ, समयले आफ्नो व्यक्ति खोज्छ।” – (चार्ल्स स्पर्जन)। यदि पूर्णकालिन सेवाकाइको लागि परमेश्‍वरबाट बोलाइएको र चुनिएको हो भने त्यस व्यक्तिमा माथि उल्लेखित तीन बुँदाहरू सावित हुन्छन् र साथै परमेश्‍वरले आफ्नो समयमा उसलाई उचाल्नुहुन्छ, प्रयोग गर्नुहुन्छ। परमेश्‍वरको समय र अगुवाइलाई पर्खनु पर्दछ। माथि उल्लेखित तीनै बुँदाहरूमा ठीक सावित ठहरियो तर परमेश्‍वरको समय र अगुवाइलाई बेवास्ता गरियो भने त्यो पनि ठूलो नोक्सानी र वर्वादि हुँदछ।

परमेश्‍वरले हरेक समयको लागि हरेक पुस्तामा आफ्ना सेवकहरू बोलाउनुहुन्छ। उहाँको सेवामा बोलाइनु ठूलो अवसर र आशिष हो! चुनौतीहरू अथाहा छन् तर आनन्द अवर्णनीय छ!

Post Comment

You May Have Missed