स्वर्ग पुराउने भर्याङ
- Short Devotion
- October 20, 2021
- 0
- 748
- 1 minute read
उत्पत्ति २८ः१२ मा याकूबले एउटा अद्भूत भर्याङको दर्शन देखे। यो भर्याङ पृथ्वीमाथि थियो र त्यसको टुप्पो स्वर्गसम्म पुगेको थियो। त्यसमा परमेश्वरका दूतहरू उक्लिरहेका र ओर्लिरहेका थिए। यो स्वर्गसम्म पुग्ने भर्याङले पृथ्वी र स्वर्ग जोडेको थियो।
पहिलेको समय देखिनै मानिसहरूको चाहाना यस्तै देखिन्छ – स्वर्गसम्म पुग्ने बाटो खोज्नु, तयार गर्नु। बाबेलको धरहरा यसैको प्रतिफल थियो। मानिसहरू स्वर्गसम्म पुग्ने धरहरा बनाउन चाहान्थे। उनीहरू पृथ्वी र स्वर्ग जोड्न चाहान्थे। तर त्यो मानवीय प्रयास असफल भयो। आज पनि मानिसहरू धर्मकर्महरूद्वारा स्वर्गसम्म पुग्ने बाटो बनाउन चाहान्छन् तर ती सबै पनि व्यर्थ छन्।
यूहन्ना १ः५१ मा येशूले यसरी भन्नुभयोः “साँचो-साँचो म तिमीहरूलाई भन्दछु, अब उसो तिमीहरूले स्वर्ग खोलिएको अनि परमेश्वरका दूतहरूलाई मानिसका पुत्रमाथि उक्लँदै र ओर्लंदै गरेका देख्नेछौ।” यो कति अद्भूत सत्यता – येशू ख्रीष्ट हाम्रो भर्याङ! याकूबले दर्शन देखेको जस्तै घटनाको ख्रीष्टले वर्णन गर्नुभयो तर उहाँको बयानमा भर्याङ उहाँ स्वयम हुनुहुन्थ्यो। साँच्चै पृथ्वी र स्वर्ग जोड्ने बाटो येशू नै हुनुहुन्छ! स्वर्ग पुराउने भर्याङ येशू ख्रीष्ट हुनुहुन्छ। पापी मानिस र पवित्र परमेश्वरबीचको मध्यस्त येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ नै बाटो, सत्य र जीवन हुनुहुन्छ।
आज हामी सबैलाई आशा छ। हामी हरेक मानिसको उत्कट चाहाना- पृथ्वी र स्वर्ग जोड्ने चाहाना, ख्रीष्टमा पूरा हुँदछ। बाबेलको धरहराले स्वर्ग पुराउन सकेन, मानिसका तत्व ज्ञानहरू, दर्शनशास्त्रहरू, धर्महरूले पिताकहाँ पुराउन सक्दैन। बाटो येशू ख्रीष्ट र येशू ख्रीष्ट मात्रै हुनुहुन्छ! आफ्नो पापहरूको पश्चताप गर्दै, येशू ख्रीष्टमाथि विश्वास गर्नु नै हाम्रो एक मात्र उपाय हो!
के आज तपाईले स्वर्ग पुराउने भर्याङ भेट्नुभएको छ? येशू ख्रीष्टलाई भेट्नुभएको छ? के ख्रीष्टमार्फत दैनिक रूपमा स्वर्गसँग तपाईको सम्पर्क छ? दैनिक संगति छ?