बाइबल र विज्ञान

 बाइबल र विज्ञान

            आज धेरै युवाहरू विज्ञानको भ्रमद्वारा ठगिएका छन्। आज संसार विज्ञानवादी भईरहँदा साँचो परमेश्‍वरलाई चिन्‍ने ज्ञानबाट टाढिएका छन्। मानिसहरू सोच्छन् कि – ‘बाइबल त पुरानो ग्रन्थ मात्रै हो’, ‘वर्तमान समय अनुसार यो छैन’, ‘बाइबललाई विश्‍वास गर्नेहरू अनपढ र रूडिबाज मान्‍नेहरू हुन्’, ‘बाइबल होइन आज विज्ञानलाई मान्दै जिउनुपर्छ’, आदि इत्यादि। तर यी सब भ्रमित विचारहरू हुन्।

            बाइबल परमेश्‍वरको प्रकाश हो। अर्थात परमेश्‍वरले हामी मानिस सम्बन्धि, सृष्टि सम्बन्धि लगायत अनन्त सत्यताहरू हामी मानिसलाई प्रकट गरिदिनुभयो। मानवीय लेखकहरूलाई प्रयोग गरेर उहाँले हामीलाई लिखित वचन दिनुभयो। बाइबल ज्ञानको ईश्‍वरीय प्रकाश हो। विज्ञान चाहिँ ज्ञान खोज्‍ने मानवीय प्रयास हो। Science (विज्ञान)  शब्द ल्याटिनको ‘scientia’ शब्दबाट आएको हो, जसको अर्थ ‘जान्‍नु’ या ‘ज्ञान’ भन्‍ने हुँदछ। परमेश्‍वरको अद्‍भूत सृष्टि देखेर पहिलेदेखि नै मानिसहरू छक्क पर्दै, अझै यसबारे बुझ्‍न चाहान्थे। सूर्य कसरी विहानै उदाउँछ अनि फेरि बेलुकी अस्ताउँछ? समुद्रको छाल केद्वारा प्रभावित छ होला? हामी मानिस कहाँबाट आयौं? यहाँ किन छौं? कहाँ जाँदैछौं? सबै मानिसको रगत रातै हुन्छ त? मृत्यु के हो? पृथ्वी सम्म छ कि गोलाकार? यस्ता प्रश्‍नहरूको उत्तर या ज्ञान खोज्‍ने मानवीय प्रयासहरू संसारभर हुन थाले। यी मानवीय प्रयासहरू बारे कतिले पुस्तक लेखे, कतिले यी प्रयासहरूलाई मद्दत पुग्नलाई विभिद यन्त्रहरूको आविस्कार गरे – अन्तत विज्ञानको सुरूवात भयो। क्रमिक रूपमा मानिसहरू विज्ञानमा गहिरिँदै गए। विज्ञानको महिमामा रमाउँदै अन्तत ईश्‍वर छैन भन्‍न समेत भ्याए। मानिस र सृष्टिका सब थोकको रचनाको श्रेय विकासवादको सिद्धान्तलाई दिई साँचो परमेश्‍वरलाई तुच्छ ठाने, इन्कार गरे। बुद्धिमान छौं भनी ठान्दै झन् मूर्ख र भ्रष्ट भए (रोमी १:२१, २२)।

            सत्यता यो हो कि बाइबल जो परमेश्‍वरको प्रकाश हो, यो सधैं मानवीय विज्ञानभन्दा उच्च छ, सधैं सठिक छ। पहिलेका समयहरूमा ‘वैज्ञानिक’ भन्‍नेहरूले पृथ्वी सम्म छ भनी ठान्थे, जबकि बाइबलले हजारौं वर्ष अघि नै पृथ्वी गोलाकार छ भन्‍ने ज्ञान दिएको थियो (यशैया ४०:२२)। यसै गरी मानवीय दर्शनशास्‍त्रीहरू सोच्थे पृथ्वी एटलास (Atlas) ले बोकेको छ, तर बाइबलले प्रष्ट पारेको थियो पृथ्वी शून्यतामा झुन्डन्छ (अय्यूव २६:७)।  यी त केहि उदाहरणहरू मात्रै हुन्। यस्ता कैयन् अचूक प्रमाणहरूले पुष्टि गर्दछ कि बाइबल त्रुटिरहित छ। विज्ञान जो मानवीय प्रयास हो, यो चाहिँ त्रुटिले भरिएको हुँदछ। जस्तो – प्लुटो (pluto) लाई एक समय ग्रह (planet) को रूपमा मानियो, पछि फेरि मानिएन, अहिले फेरि कतिले मान्छन्। एक वर्ष अघिको विज्ञान पुस्तक र आजको विज्ञानको पुस्तकमा कति सुधारहरू आईसकेको हुन्छ। नियमति रूपमा विज्ञानका पुस्तकहरू सुधार भईरहन्छन् तर बाइबल सधैं समान छ, बदलिँदैन, बदलिनु पर्दैन।

                        अनि कतिले सोच्‍छन् बाइबल र विज्ञान एक अर्काका विरोधी हुन्। यो गलत हो। वास्तवमा साँचो विज्ञान सधैं बाइबल सम्मत हुँदछ। संसारमा धेरै ख्रीष्टियन वैज्ञानिकहरू थिए र आज पनि छन्। उनीहरूले बाइबललाई आधार मान्दै अघि बढ्दा साँचो विज्ञान र बाइबलमा मेल पाएका छन्।

            हाम्रा महान परमेश्‍वरको वचनलाई र सत्यतालाई तुच्छ ठानी, विज्ञानलाई बाइबल भन्दा माथि उचाल्दै आफूलाई ‘जान्‍ने र बुद्धिमान’ छु भनी ठान्‍नेहरूले अनन्तमा ठूलो पछुतो गर्नुपर्नेछ। हामी ख्रीष्टियन युवाहरू विज्ञानको भ्रमद्वारा नठगिऔं। विकासवादको भ्रमद्वारा प्रभावित भई नास्तिक नबनौं। वास्तविकता बुझौं! बाइबल भरोसायोग्य छ, बाइबल अकाट्य छ, बाइबल परमेश्‍वरको वचन हो! बाइबलमा जीवन बसाल्‍नेहरू धन्यका हुन्!

[pvc_stats postid="" increase="1" show_views_today="1"]

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *