लेवी संक्षिप्त टिप्पणी (अध्याय १-१०)
- Leviticus Concise Commentary
- January 13, 2020
- 0
- 1182
- 3 minutes read
अध्याय १
- यस पहिलो अध्यायमा होमबलिको विषयमा उल्लेख भएको छ। होमबलि परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको मूख्य पाँच बलिहरूमध्ये एक हो। यी बलिहरूले येशू ख्रीष्टको बलिदानको चित्रण दिन्छन्। होमबलिमा बलिलाई पूर्ण रूपमा जलाउनुपर्थ्यो। जनावरहरूको छाला चाहिँ निकालिन्थ्यो।
- यस बलि स्वइच्छिक थियो, मीठो सुगन्ध हुनलाई आगोले चढाइन्थ्यो र रगत बहाइन्थ्यो। यस बलिले येशू ख्रीष्ट स्वइच्छाले र पूर्ण रूपमा हाम्रो लागि बलि हुनुभयो भन्ने चित्रण दिन्छ।
- हामी पनि हाम्रो जीवन जिउँदो बलिदानको रूपमा चढाउँछौं। यो बलि स्वइच्छि र पूर्ण हुनुपर्छ।
अध्याय २
- अन्नबलिको विषयमा यस अध्यायमा बताइएको छ। अन्नबलिमा रगत बहाइदैनथ्यो। मैदा, तेल र मैदाका फुरौलाहरू चढाउन सकिन्थ्यो। सबै अन्नबलि खमिर रहित हुनुपर्थ्यो। खमिरले पापको चित्रण दिन्छ। येशू ख्रीष्ट पापरहित र निर्दोष बलि हुनुहुन्थ्यो। उहाँले आफ्नो पाप बोक्नुभएन, तर हाम्रो पाप बोक्नुभयो। हाम्रो अपराधको कारणले उहाँ बलि हुनुभयो।
- हाम्रै अपराधको कारणले बलिको आवश्यक परेको हो।
अध्याय ३
- यहाँ मेलबलिको बारेमा लेखिएको छ। बलिको केहि भाग जलाइन्थ्यो र केहि भागचाहिँ भोजनको रूपमा अलग गरिन्थ्यो। यो बलिको क्रममा रगत छर्कनुपर्थ्यो। बलि खोटबिनाको हुनुपर्थ्यो। बलि मीठो बास्ना हुनका लागि चढाइन्थ्यो।
- यस बलिले पापी मानिस र पवित्र परमेश्वरको मेलमिलापको चित्रण दिन्छ। बलिद्वारा मेलमिलाप सम्भव हुन्थ्यो।
- येशू ख्रीष्टको बलिदानद्वारा हामी पापीहरूको परमेश्वरसंग मेलमिलाप भएको छ। (२ कोरिन्थी ५:१६-२१)
अध्याय ४
- पापबलि पाँच बलिहरूमध्ये एक हो। यो बलि सबै प्रकारको मानिसको लागि आवश्यक थियो। जस कसैले पाप गर्छ उसको लागि यो बलि आवश्यक हुन्थ्यो – चाहे पूजाहारी, चाहे सम्पूर्ण समुदाय, चाहे शासक, या चाहे साधरण मानिस। हरेकको पापको लागि बलि चढाइनै पर्थ्यो। कसैलाई पनि छुट छैन।
- यस बलिले हाम्रो पापी स्वभाव या प्रकृतिको क्षमाको चित्रण दिन्छ।
- येशू ख्रीष्टद्वारा अब हामी पापी प्रकृतिमाथि विजय पाउन सक्छौं। पहिले हामीलाई विकल्प थिएन। हामी पाप नै गर्थ्यौं, तर अब पाप क्षमा पाएपछि हामीले पाप गर्नुपर्दैन। हरेकले नै पापको क्षमा माग्नै पर्छ। कोहि पनि दण्डबाट उम्कन सक्दैन। (हिब्रु ९:२६, यशैया ५३:१०,११)
अध्याय ५
- दोषबलि निश्चित दोषहरूको लागि थियो। व्यक्तिगत पापहरूको पनि बलिद्वारा क्षमा हुन्थ्यो।
- येशू ख्रीष्ट हाम्रा सबै पापहरूका निम्ति बलि हुनुभयो। सबै पापहरू क्षमा हुन्छ्न्। (हिब्रु १०:१२)
अध्याय ६ र ७
- पाँच बलिहरूका थप नियमहरू र बलि गर्ने तरिकाहरू यी अध्यायहरूमा उल्लेख गरिएका छन्। बलि चढाउँदा कुनै कुनै बलिमा चढाइएको बलिको केहि भाग खान मिल्थ्यो। बोसो र रगत खान भने मिल्दैनथ्यो। यस विषयमा परमेश्वरले कडा आज्ञा दिनुभयो। बोसो परमप्रभुलाई आगोले चढाइने भागमा पर्थ्यो। परमेश्वरलाई चढाइएको चीज पवित्र हुन्छ। अनि रगतमा जीवन हुन्छ। जीवनको मूल्य महान छ। किनभने सबै जीवनको श्रोत परमेश्वर नै हुनुहुन्छ।
- बलि चढाइएको पशुको केहि भाग पूजाहरीहरूले पाउँथे। यो परमेश्वरको सेवाको भाग थियो।
- परमेश्वरले आफ्ना सेवकहरूको वास्ता गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ।
अध्याय ८
- पाप क्षमाको लागि बलि चढाउने कुरा नौलो थिएन। वास्तवमा आदम र हव्वाको समयदेखि नै यस्तो बलिदान गरिन्थ्यो, तर पूजाहारीगिरीको साथमा भेटहुने पालमा नियम बमोजिम बलि गर्ने कार्य भने नौलो थियो, भर्खर शूरूवात हुँदै थियो।
- हारून र उनका छोराहरू (उनीहरू लेवी कुलका थिए) लाई परमेश्वरले आफ्ना सेवाको लागि चुन्नुभयो। उनीहरूले पुजाहरीका रूपमा भेटहुने पालमा सेवा गर्नुपर्ने थियो। उनीहरू मानिसहरू र परमेश्वरबीच मध्यस्त थिए। बलिहरू उनीहरू मार्फत चढाइन्थे। तर उनीहरू परमेश्वरको सेवामा अघि बढ्नु अघि उनीहरू कै लागि पहिले बलि चढाइयो। उनीहरू तेलले अभिषेक गरिए, उनीहरूको लागि पापबलि चढाइयो र उनीहरूको लागि समर्पण बलिहरू पनि चढाइए।
- अरू मानिसहरूलाई परमेश्वरसंग मेलमिलापको लागि डोर्याउन अघि हामी आफै शुद्ध पारिएको हुनुपर्छ। परमेश्वरको सेवामा पवित्रता र समर्पणता आवश्यक छ।
अध्याय ९
- प्रस्थानको पुस्तकमा परमेश्वरले इस्राएलीहरूलाई भेट हुने पालका सामाग्रीहरू बनाउन आज्ञा गर्नुहुन्छ। परमेश्वरको आज्ञा अनुसार सबै कुराहरू बनाइन्छन्। अब लेवीको पुस्तकमा उहाँले बलिका नियमहरू दिनुहुन्छ, र अब यस अध्यायमा बलिहरूको सेवाको शूरूवात हुँदछ।
- पूजाहारीहरू र मानिसहरू सबैका लागि बलिहरू चढाइन्छन्। हारूनले सबै मानिसहरूलाई आशिर्वाद दिन्छन्, अनि परमेश्वरको महिमा इस्राएलीहरूको माझमा देखा पर्छ। हारून र इस्राएलीहरूले परमेश्वरले भन्नुभए झैं सबै बलिहरू चढाउँछन्। परमेश्वरले बलिहरू ग्रहण गर्नुहुन्छ र मानिसहरू हर्षले चिच्याउँछन् र भुइँमा घोप्टो परी उपासना चढाउँछन्।
- परमेश्वरको योजना र इच्छा अनुसार गरिएको काम उहाँमा ग्रहणयोग्य हुँदछ र यसले आशिष ल्याउँछ।
अध्याय १०
- नौ अध्याय हर्ष उल्लासले अन्त हुन्छ भने दसौं अध्याय मृत्युद्वारा शुरू हुन्छ। हारूनका छोराहरू नादाब र अबिहूले परमेश्वरले आज्ञा गर्नुभए झैं धूप ल्याउनुको साटो आफ्नै तरिकाको धूप ल्याए र फलस्वरूप मारिए। उनीहरूले परमेश्वरलाई ‘बिरानो आगो’ चढाए र दण्डित भए। आज पनि धेरै मण्डलीहरू र विश्वासीहरू बिरानो आगो चढाउँछन्। परमेश्वरको सत्यतालाई बंगाई आफ्नै तरिकाले परमेश्वरको सेवा गर्ने प्रयास गर्छन्।
- पूजाहारीहरूले दाखमद्य र मदिरा कहिल्यै पिउनु हुन्नथ्यो। उनीहरू पवित्र पवित्र पवित्र परमेश्वरको सेवा गर्दै थिए, उनीहरू पनि पवित्र रहनुपर्थ्यो।
- परमेश्वरको काम परमेश्वरकै तरिकामा नगरिँदा न्याय पाइन्छ, परमेश्वरलाई क्रोधित तुल्याइन्छ।